हतियार गृहमन्त्रीले नै लुकाएको कांग्रेस नेता शाहीको आशंका

हतियार गृहमन्त्रीले नै लुकाएको कांग्रेस नेता शाहीको आशंका



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तरुण दलका पूर्वमहामन्त्री भुपेन्द्रजंग शाहीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार गृहमन्त्री ओमप्रकाश अर्यालले नै लुकाएको आरोप लगाएका छन् ।

गृहमन्त्रीले लुटिएका हतियार र भागेका कैदीबन्दी प्रयोग नगर्ने भनी राजनीतिक दलबाट प्रतिबद्धता आउनुपर्ने अभिव्यक्ति दिएको आपत्ति जनाउँदै शाहीले यो आरोप लगाएका हुन् । उनले गृहमन्त्री अफवाह फैलाउने र सत्ता लम्ब्याउने चालबाजीमा रहेको दाबी गरे ।

गृहमन्त्रीले बारम्बार आफैँ अराजक अभिव्यक्ति दिँदै, हिंसा भड्काउने र समाजलाई उत्तेजित पार्ने खालका भाषण गरेर निर्वाचनको वातावरण बिगारिरहेको आरोप उनले लगाएका छन् ।

शाहीले भने- ‘लुटिएका हतियार ओमप्रकाश अर्यालले नै लुकाएको आशंका उत्पन्न भएको छ । जेन-जी आन्दोलनका क्रममा अराजक र उग्र अभिव्यक्ति दिएर युवालाई भड्काउने र आगजनी गर्न उक्साउने व्यक्ति नै गृहमन्त्री बन्नु र लुटिएका हतियार राजनीतिक दलले जिम्मा लिनुपर्छ भन्ने अफवाह फैलाउनुले यो आशंका बलियो बनाएको छ ।’