झापा । झापा जिल्लामा २ हजार ६२२ नयाँ मतदाता थपिएका छन् । ती मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलोपल्ट मतको प्रयोग गर्न पाउनेछन् ।
जिल्ला निर्वाचन कार्यालय का सूचना अधिकारी प्रेमप्रकाश न्यौपानेका अनुसार जिल्लामा थपिएका मतदाता समेत गरी मतदाता संख्या ६ लाख ८२ हजार ९९३ पुगेको छ । यसअघि झापामा ६ लाख ८० हजार ३७१ जना मतदाता थिए ।
अन्तरिम सरकारले अध्यादेश मार्फत निर्वाचन कानुन संशोधन गरेर नयाँ मतदाता अद्यावधिक गर्ने निर्णय गरेपछि हाल उमेर पुगेका नागरिकले मतदाता सूचीमा नाम दर्ता गराउने क्रम धमाधम छ ।
‘मतदाता सूचीमा नाम लेखाउन आउने क्रम चलिरहेको छ,’ सूचना अधिकारी न्यौपानेले भने, ‘एकै दिन तीन सय जनासम्म मतदाता सूचीमा नाम दर्ता गराउन आउँछन् । नयाँ पुस्तामा निर्वाचनमा भाग लिने उत्सुकता बढेको पाइएको छ ।’
यही कात्तिक २ गतेसम्म थपिएका मतदाता संख्या २ हजार ६२२ पुगेको हो ।
कात्तिक ३० गतेसम्म नयाँ मतदाताले आफ्नो नाम दर्ता गर्न पाउने समयसीमा तोकिएको निर्वाचन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया