काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारीले आफूहरू इरानविरुद्ध चुनौती पेस गर्न तयार रहेको बताएकी छन् ।
आज नेपालले त्रिदेशीय मैत्रीपूर्ण फुटबलअन्तर्गत इरानसँग प्रतिस्पर्धा गर्दै छ । खेल भारतको सिलोङस्थित जवाहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार बेलुका ६ः१५ बजे सुरु हुनेछ ।
कप्तान सावित्राले यही खेलका निम्ति नेपाली टिम तयार रहेको बताएकी हुन् ।
“नेपाल इरानविरुद्ध खेल्न तयार छ । यहाँ (भारत) आइसकेपछि हामीले मैदानको पनि अवलोकन गरिसकेका छौँ । हामी सबै इरानविरुद्ध खेल्न मानसिक र शारीरिक रूपमा तयार छौँ,” उनले भनिन् ।
नेपालले प्रतियोगितामा पहिलो खेल खेल्न लागेको हो । उद्घाटन खेलमा यसअघि इरानले घरेलु टिम भारतलाई २–० ले पराजित गरेको थियो ।
प्रतियोगितामा हरेक टिमले दुई खेल खेल्नेछन् । र, शीर्ष टिमलाई विजेता घोषणा गरिनेछ ।


प्रतिक्रिया