काठमाडौं । अस्ट्रेलियाका कप्तान प्याट कमिन्स एशेज टेस्ट शृङ्खलाको पहिलो खेलबाट बाहिरिएका छन् । ढाडको चोटका कारण कमिन्स पहिलो एशेज टेस्टबाट बाहिरिएका हुन् ।
उनी बाहिरिएसँगै आउँदो नोभेम्बर २१ मा पर्थमा शुरू हुने इङ्ग्ल्यान्डसँगको पहिलो एशेज टेस्टमा स्टिभन स्मिथले अस्ट्रेलियाको कप्तानी गर्ने भएका छन् । आफ्नो प्रभावशाली कप्तान र प्रमुख तीव्र गतिका बलर गुमाउनु अस्ट्रेलियाका लागि ठूलो धक्का हो ।
दोस्रो एशेज टेस्टमा कमिन्स टोलीमा फर्किने सम्भावना छ । दोस्रो टेस्ट डिसेम्बर ४ देखि ब्रिस्बेनमा शुरू हुनेछ । बहुप्रतिक्षित शृङ्खला शुरू हुन एक महिनाभन्दा कम समय बाँकी रहँदा कमिन्सले गएको जुनमा वेस्ट इन्डिज भ्रमणमा भोगेको ढाडको तनावको चोटबाट निको हुँदै गएकाले अझै बलिङ शुरू गरेका छैनन् ।
पहिलो एशेज टेस्टमा कमिन्सको ठाउँमा स्कट बोल्यान्डले खेल्ने सम्भावना छ । बोल्यान्डले वेस्ट इन्डिजसँगको पछिल्लो खेलमा ह्याट्रिक लिएका थिए ।
स्मिथले सन् २०२१ देखि कमिन्सको अनुपस्थितिमा ६ पटक अस्ट्रेलियाको कप्तानी गरिसकेका छन्, तीमध्ये ५ खेल जितेका छन् ।


प्रतिक्रिया