काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति न्युजिल्यान्डका पूर्वक्रिकेटर मार्टिन गप्टिललाई निरन्तरता दिएको छ ।
गप्टिल आधुनिक क्रिकेटको सबैभन्दा परिचित नामहरूमध्ये एक हो, जो इनिङको शीर्षक्रममा आफ्नो विस्फोटक ब्याटिङ क्षमताको निम्ति परिचित छन् । सन् २०१५ को एकदिवसीय विश्वकपमा गप्टिलले अविजित २३७ रनको दोहोरो शतकीय इनिङ खेलेका थिए । एकदिवसीय विश्वकपमा यो नै अहिलेसम्मको उच्च व्यक्तिगत स्कोर हो ।
उनले यसअघि एनपीएलको पहिलो संस्करणमा पनि विराटनगर किंग्सको प्रतिनिधित्व गरेका थिए । उनले पहिलो संस्करणमा ६ खेल खेल्दा एक अर्धशतकसहित १३७ रन बनाएका थिए ।
गप्टिलको आगमनले ब्याटिङ लाइनअपलाई बलियो बनेको र पावरप्लेको समयमा टोलीलाई आक्रामकता दिने विश्वास क्लबले लिएको छ ।
विराटनगरले यसअघि दक्षिण अफ्रिकाका चर्चित ब्याटर फाफ डू प्लेसिसलाई अनुबन्ध गरिसकेकाे छ ।
हर्मीत सिंहले सुदूरपश्चिमबाटै खेल्ने
सुदूरपश्चिम रोयल्सले अमेरिकन अलराउन्डर हर्मीत सिंहलाई नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको निम्ति निरन्तरता दिएको छ । आइतबार सुदूरपश्चिमले हर्मीतलाई दोस्रो संस्करणमा निरन्तरता दिँदै तेस्रो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको जनाएको हो ।
सिंह अघिल्लो संस्करणको एनपीएलमा सबैभन्दा कम इकोनोमीमा बलिङ गर्ने खेलाडी हुन् । गत सिजन उनले पाँच खेलमा आठ विकेट लिएका थिए ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले हर्मीतको आगमनले टिम झनै बलियो बन्ने विश्वास व्यक्त गरे ।
३२ वर्षीय हर्मीत बाँयाहाते बलर हुन् र बाँयाहाते ब्याटिङ पनि गर्छन् । उनले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा २५ खेलमा २४ विकेट लिएका छन् भने ब्याटिङमा २३५ रन बनाएका छन् ।
अमेरिकाका लागि उनले २१ एकदिवसीय खेलमा ३१ विकेट लिएका छन् भने ३२५ रन बनाएका छन् ।
हर्मीत सन् २०१२ को यू–१९ विश्वकप विजेता भारतीय टोलीका सदस्य थिए । उनले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सका लागि समेत खेलेका छन् ।


प्रतिक्रिया