काठमाडौं । पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजले घरेलु टोली न्युजिल्यान्डलाई ७ रनले हराएको छ ।
वेस्ट इन्डिजले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५७ रनमात्र बनाउन सक्यो । न्युजिल्यान्डका कप्तान मिचेल सान्टनरले २८ बलमा नटआउट ५५ रन बनाए पनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । वेस्ट इन्डिजका जेडेन सील्स र रोस्टन चेसले ३/३ विकेट लिए ।
यसअघि अकल्यान्डको इडेन पार्कमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनायो । वेस्ट इन्डिजका कप्तान तथा विकेटकिपर शाई होपले ५३, रोभम्यान पावेलले ३३ रन बनाए । न्युजिल्यान्डका ज्याकोब डुफी र जकारी फाउलकेसले २/२ विकेट लिए ।
योसँगै वेस्ट इन्डिजले तीन खेलको शृङ्खलामा १–० को अग्रता लिएको छ । शृङ्खलाको दोस्रो खेल भोलि र तेस्रो खेल आउँदो आइतवार हुनेछ ।


प्रतिक्रिया