सन्नी पटेलले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने

सन्नी पटेलले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने



काठमाडौं । अलराउन्डर सन्नी पटेललाई काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका निम्ति अनुबन्ध गरेको छ ।

योसँगै ‘काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रा.लि.’को स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले अधिकतम ६ विदेशी खेलाडीको कोटा पनि पूरा गरेको छ ।

काठमान्डुले यसअघि नै इङ्गल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान गेर्हार्ड इरास्मस, अमेरिकी ब्याटर मिलिन्द कुमार, इङ्गल्यान्डका बेन चार्ल्सवर्थ र जोहन सिम्पसनलाई आउँदो सिजनको एनपीएलका लागि अनुबन्धन गरिसकेको छ । इरास्मसबाहेक अन्य सबैले पहिलोपटक गोर्खाजको जर्सी लगाएर खेल्न लागेका हुन् ।

पटेल भने नेपालको फ्रेन्चाइज क्रिकेटमा परिचित छन् । उनले २०१९ मा सीवाईसी अत्तरियाबाट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तेस्रो संस्करण र चितवन राइनोजबाट पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणको उपाधि जितेका थिए ।

भारतको गुजरातबाट रणजी ट्रफी खेलेका ३८ वर्षे पटेल पछिल्लो समय अमेरिकामा खेल्दै आएका छन् ।