सरकारले राजनीतिक दलहरूलाई अवमूल्यन गरेकाे छैन : कानूनमन्त्री सिन्हा

सरकारले राजनीतिक दलहरूलाई अवमूल्यन गरेकाे छैन : कानूनमन्त्री सिन्हा



काठमाडौं । अन्तरिम सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले राजनीतिक दलहरूलाई अवमूल्यन गरेको भन्ने विषयमा सत्यता नरहेको बताएका छन् ।

सिंहदरबारमा आज बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा मन्त्री सिन्हाले यस्ताे बताएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई अवमूल्यन गरेको टीकाटिप्पणी भइरहेका बेला उनले सरकारले जेनजी समूहसँगको छलफलमा शुरुआतमा धेरै समय खर्चनुपरेको तर अन्य दलहरूलाई अवमूल्यन नगरेको उल्लेख गरे ।

उनले भने, ‘संसदीय अभ्यास ब्रेक भएको बेलामा हामी एउटा पुल निर्माण गरेर पुनः जनप्रतिनिधिलाई हस्तान्तरण गर्ने एकमात्र लक्ष्य लिएर हिँडेका छौँ । तर चुनावमात्रै लक्ष्य रहँदैन रहेछ । चुनावको तयारीका क्रममा गर्नुपर्ने विभिन्न कामका साथसाथै असन्तुष्ट पक्षको कुरा सुन्नुपर्ने कारणले गर्दा र सरकारको दैनिकीसमेत सञ्चालन गर्नुपर्ने कारणले गर्दा हामीहरू अलिकति ढिलो भएको हो । यो सरकारले कहिल्यै पनि दलहरूलाई अवमूल्यन गरेको छैन ।’

मन्त्री सिन्हाले सुरक्षा अवस्थालाई सहज बनाउन नागरिकले प्रहरीलाई गरेको सहयोगको प्रशंसासमेत गरे ।