काठमाडौं । नेपाली कांग्रेसमा विघटित प्रतिनिधि सभाका सांसदहरूको हस्ताक्षर संकलन सुरू गरिएको छ ।
भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएलगत्तै प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा विघटन सिफारिस गरेकी थिइन् । उक्त सिफारिसको आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए । सरकारले प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि चुनाव तोकेको छ ।
विघटनअघि प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद थिए । केही सांसद भने निलम्बनमा परेका थिए ।
कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले विघटित प्रतिनिधि सभामा रहेका पार्टीका सांसदहरूको हस्ताक्षर लिन सुरू गरिएको जानकारी दिए । उनले भने, ‘सबैको हस्ताक्षर लिएर पार्टी केन्द्रीय समितिमा बुझाउँछौं । न्यायलयको ढोका ढकढक्याउन पनि हस्ताक्षर सुरू गरिएको हो ।’
कांग्रेसले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको छ । त्यसैले प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन गर्न सुरू गरेको हो ।
नेकपा (एमाले) ले पनि विघटित प्रतिनिधि सभाका आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको छ । एमाले प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा उभिएको छ ।


प्रतिक्रिया