एमालेका युवा फेसबुकमा होइनन्, घर घरमा छन् : ओली

एमालेका युवा फेसबुकमा होइनन्, घर घरमा छन् : ओली

नेपाली कम्युनिस्ट पार्टीप्रति कटाक्ष : जेष्ठ नागरिक आश्रम



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा युवाहरूको सबैभन्दा ठूलो पंक्ति भएको दाबी गरेका छन् ।

सोमबार राष्ट्रिय सभा गृहमा आयोजित घर फर्क अभियानको राष्ट्रिय घोषणा सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले एमाले फेसबुकमा रित्तो भएको तर घर घरमा रहेको जिकिर गरे ।

‘नेकपा एमालेको एउटा तिरतिरे खोल्सो होइन । यो एउटा महासागर जस्तो संगठन हो । यसमा युवाहरूको सबैभन्दा ठूलो पंक्ति छ,’ ओलीको दाबी छ, ‘युवा छैन एमालेसँग भन्छन् नि, अनि को सँग छन् त युवा ? फेसबुकको युवा होइन, घर घरको युवा नेकपा एमालेसँग छ । फेसबुकमा हेर्ने हो भने केही पनि छैन एमालेसँग । रित्तै भइसक्यो एमालेसँग ।’

उनले आफूहरू राष्ट्र निर्माणको महा अभियानमा जुटेको जिकिर गरे । ‘हामीमा कुनै संकीर्णता छैन । हुन सक्दैन । हामी राष्ट्र निर्माणको महाअभियानमा जुटेका छौं । अहिले घर फर्क अभियान, राष्ट्रिय शक्ति निर्माण अभियान, नेकपा एमालेमा सामेल हुने अभियानको निष्कर्ष के हो भने नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिमा परिणत गरौं । यसले देशलाई सही दिशामा अघि बढाउँछ,’ ओलीको भनाइ छ ।

ओलीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई जेष्ठ नागरिक आश्रमको संज्ञा दिएका छन् ।

रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतलाई पार्टीमा स्वागत गर्दै उनले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपालहरूले विभिन्न समूह एक गरेकोप्रति कटाक्ष गर्दै जेष्ठ नागरिक आश्रम खोलेको टिप्पणी गरे ।

‘जेष्ठ नागरिक आश्रम खोलेर कोही बस्दै हुनुहुन्छ । अब एक दुईजना समेट्न बाँकी छ । कोही कोही बागलुङ, प्युठानबाट । कोही कताबाट समेट्नु भयो भने कोर्ष पूरा हुन्छ उहाँहरूको,’ ओलीले भने ।

उनले काम गर्नेजति एमालेतिर आएको बताए । युवाहरू एमालेमा आइरहेको सुनाए । उनले एमालेका पूर्वउपाध्यक्ष भीम रावलप्रति कटाक्ष गर्दै भने, ‘उमेरले मात्रै हुँदो रहेनछ । कोही कोही छैटौँ नम्बर पाएपछि कुदिहाल्दा रहेछन् । ६ नम्बर ।’

उनले एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा घर फर्किएको बताए ।

उनले थपे, ‘मैले उहाँहरूलाई मनभित्र कता कता लोभ त राखेको छैन भनेर सोधेँ, उहाँहरूले भन्नुभयो, केही छैन । उहाँहरूले कुर्सी नभए चकटीमा बसौँला, चकटी नभए भुँइमा बसौँला, केही छैन । गन्तव्य हेरेर हामी आएका हौँ भन्नुभएको छ । त्यसलाई पार्टीले कदर गर्छ ।’