काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वकानूनमन्त्री अग्नि खरेलले आफ्नो पार्टी निर्वाचनबाट नभाग्ने स्पष्ट पारेका छन् । यद्यपि, उनले वर्तमान सरकार निर्वाचन गर्ने दिशामा नलागेको र उसको कार्यशैलीले निर्वाचनको वातावरण नबनाएको आरोप लगाएका छन् ।
नेपाल कानुन समाजले आयोजना गरेको ‘आगामी प्रतिनिधि सभाको निर्वाचन: चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता खरेलले निर्वाचनको मुख्य सरोकारवाला रहेका राजनीतिक दलका नेताहरूलाई समेत नभेट्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीले निर्वाचन गराउनेमा आफूहरूलाई विश्वास नलागेको बताए ।
उनले भने, ‘ढङ्गले आओस्, एमाले निर्वाचनबाट भागेर बाहिर जाँदैन । तर, निर्वाचन हुँदैछ भन्ने कुराको विश्वास दिलाउने खालको सरकारी ढाँचाकाँचा नै छैन। कामकारबाही नै त्यो खालको भइरहेको छैन ।’
खरेलले निर्वाचनमय वातावरण बनाउने जिम्मेवारी सरकारको भएको भन्दै वर्तमान सरकारको कामकारबाहीले निर्वाचनको वातावरण बनाउनेभन्दा बिगार्नेतिर बढी गएको बताए ।


प्रतिक्रिया