कांग्रेस बैठक : संसद् पुनर्स्थापनाको पक्षमा निर्णय गर्न घिमिरेको प्रस्ताव

कांग्रेस बैठक : संसद् पुनर्स्थापनाको पक्षमा निर्णय गर्न घिमिरेको प्रस्ताव



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले पार्टी संसद् पुनर्स्थापनाको पक्षमा उभिनुपर्ने प्रस्ताव राखेका छन् । जारी केन्द्रीय समिति बैठकमा बुधबार बोल्दै पार्टीले सरकार गठन र संसद् पुनर्स्थापनालाई असंवैधानिक भनिसकेकाले त्यसैको पक्षमा उभिनुपर्ने बताए ।

उनले भने, ‘हामी विगतमा पनि प्रत्येक पटक संसद् विघटन हुँदा पुनर्स्थापनाको पक्षमा अदालत गएका छौँ । यस पटक किन यो मुद्दाको पक्षमा नउभिने ? हामीले संसद् विघटन र सरकार निर्माणलाई असंवैधानिक कदम भनिसकेका छौँ ।’

उनले आफूले संसद् पुनर्स्थापना गर्नुपर्छ भन्ने भएरै विघटित प्रतिनिधि सभाका सांसदहरूको हस्ताक्षर संकलन गरेका बताए । उनले आफूलाई हस्ताक्षर संकलन गर्न सभापति, कार्यवाहक सभापति, महामन्त्रीहरू कसैले पनि निर्देशन नदिएको बताए ।

फागुन २१ मा चुनाव भएपनि संसद् लामो नजाने भन्दै चालु बैठकबाट पुनर्स्थापनाको पक्षमा उभिने निर्णय गर्न माग गरे ।