काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीले जननेता मदन भण्डारीको ठुलो अपमान गरेको आरोप लगाएका छन् ।
बुधबार राष्ट्रिय सभा गृहमा आयोजन भएको एकता समायोजन समारोहमा बोल्दै उनले कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउने नेतामाथि ओलीबाट ठुलो अपमान भएको आरोप लगाए ।
‘कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन लागेका मदन भण्डारी अब अवहेलित भएका छन् । अहिलेको एमालेले मदनलाई अपमान गर्ने र बदनाम गर्ने कोसिस भएको छ । म कमरेड मदन भण्डारीप्रति सम्मान व्यक्त गर्न चाहन्छु’, उनले भने, ‘अहिले एमाले विल्कुल अर्को लाइनमा गएर सहकारी ठगी गरेको, विवाह पनि दुई या चार वटा भएको थियो भनेर केपी ओलीले नै सार्वजनिक रूपमा भन्ने भनेको मदन भण्डारीको यो भन्दा ठुलो अपमान केही हुन सक्छ ।’
प्रचण्डले मदन पत्नी तथा एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारीलाई पार्टीको साधारण सदस्य समेत नदिएर रोक्नु राम्रो नभएको जिकिर गरे ।
उनले भने– ‘अहिले कमरेड विद्या भण्डारीले साधारण सदस्य पाउँ भन्दा रोक्ने गरी गएको छ, त्यस्तो एमाले मदनको हुन सक्छ । एमालेभित्रका इमानदार, क्रान्तिकारी नेताहरूलाई अपिल गर्न चाहन्छु । इतिहासको यति ठुलो धोका, यति ठुलो घात पक्कै तपाईँले महसुस गर्नुभएको होला । त्यसकारण १२ वामपन्थीसँग मात्र होइन, तपाईँहरू समेतको विशाल कम्युनिस्ट पार्टी बनाउने उद्देश्यले भएको हो ।’
प्रचण्डले आफूबाट कुनै आग्रह/पूर्वाग्रह नहुने बताएका छन् । उनले भने, ‘मेरो तर्फबाट कुनै आग्रह/पूर्वाग्रह हुने छैन । नेपाल राष्ट्र र नेपाली जनतालाई एक ठाउँमा राखेर सम्पूर्ण तागतका साथ एक ठाउँमा राखेर एकतालाई अझ सुदृढ गर्ने, अझ विकसित गर्ने र प्रतिक्रियावादी षड्यन्त्र परास्त गर्न जस्तोसुकै मूल्य चुकाउन पनि तयार छु ।’
उनले जेनजी विद्रोहले गल्ती आत्मालोचना गर्न प्रेरित गरेको पनि बताए । उनले भने, ‘यदि जेनजी आन्दोलनले तीव्रताका साथ सुशासनको पक्षमा, भ्रष्टाचारका विरुद्ध र नेतृत्व रुपान्तरणका पक्षमा आवाज उठाएकाले सोच्न बाध्य भयौँ ।’


प्रतिक्रिया