महाधिवेशनका लागि हस्ताक्षर भेरिफिकेसनको अवस्थासम्म नपुगाेस् : भीष्म आङ्दम्बे

महाधिवेशनका लागि हस्ताक्षर भेरिफिकेसनको अवस्थासम्म नपुगाेस् : भीष्म आङ्दम्बे



काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदम्बेले विशेष महाधिवेशन माग गरेर बुझाइएका हस्ताक्षर भेरिफिकेसनसम्म पुग्न नदिनुपर्ने बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै आङ्दम्बेले विशेष महाधिवेशन गर्नुपर्ने भए पनि केन्द्रीय कार्यसमितिले टुङ्गो लगाउनुपर्ने बताए ।

‘म त के चाहन्छु भने केन्द्रीय समितिबाट हरेक कुराको टुङ्गो लागोस् । विशेष अधिवेशन पनि केन्द्रीय समितिबाट टुङ्गो लागेर जाओस्,’ उनले भने, ‘ भेरिफिकेसनसम्म पुग्ने अवस्था नआओस् ।’

आङदम्बेले नियमित महाधिवेशन नै सबैको साझा मिलनबिन्दु हुनसक्ने बताए । ‘नियमित महाधिवेशनबाटै हामी जानु पर्छ,’ आङेदम्बेले भने, ‘नियमित महाधिवेशन नै सबैको एउटा मिलन बिन्दु हुनुपर्छ ।’

फागुन २१ गते निर्वाचन हुने भए पार्टी निर्वाचनको तयारीमा लाग्नुपर्ने र निर्वाचन नभए आन्दोलनमा जानुपर्ने उनले बताए । निर्वाचन नभए गरिनुपर्ने आन्दोलनको एजेण्डा चाहेर पनि नचाहेर पनि संसद् पुनर्स्थापनाकै हुने उनको भनाइ थियो ।