देउवालाई सभापति बन्न दिनु गल्ती भयो : गगन थापा

देउवालाई सभापति बन्न दिनु गल्ती भयो : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०७८ सालमा भएको पार्टीको १४ औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बन्न दिनु आफ्नो ठुलो गल्ती भएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्दै मुख्यमन्त्री थापाले आफूले २०६८ सालदेखि पार्टीमा बुढा नेताहरूलाई हटाएर नयाँ नेतृत्व आउनुपर्छ भन्दै बोल्ने लेख्ने गरेपछि १४ औँ महाधिवेशनमा सभापति नलडेर महामन्त्री लड्नु नै गल्ती भएको बताए ।

“२०७८ मा भएको १४ औँ महाधिवेशनबाट शेरबहादुर देउवालाई सभापति बन्न दिनु नै ठुलो गल्ती भयो भन्ने अहिले लाग्छ,” थापाले बैठकमा धारणा व्यक्त गर्दै भने, “मैले २०६८ सालदेखि पार्टीमा बुढा नेताहरूलाई बिदाइ गरेर युवा नेताहरूको बाहुल्यता गराउनुपर्छ भन्दै बोल्दै र लेख्दै आए । तर, १४ औँ महाधिवेशनमा उहाँकै महामन्त्री बन्नु ठुलो गल्ती भयो ।”

उनले आफ्नाबारेमा कतिपय नेताले गरेका निन्दा घरसम्मै पनि नलैजाने र त्यो कांग्रेसको संस्कार पनि नभएको बताए ।

“मेराबारेका निन्दा घरसम्म लैजान्न । म तिम्रो कुरा सुन्छु भन्नेलाई सम्झाउन चाहिँ सक्छु,” थापाको भनाइ थियो, “निन्दा हाम्रो संस्कार नै होइन । देशभरिका साथीहरुलाई अनुरोध गर्दछु । संवादको मर्यादा कायम राख्नुपर्छ । हामी आफ्ना भिन्न कुरा राख्छौँ । मैले पार्टीमा सिकेको कुरा यही हो ।”

उनले आफूप्रति पनि केही प्रश्न भएको बताउँदै फेरि पनि महामन्त्रीका रुपमा जवाफ दिन पाइएला कि नपाइएला भनी टिप्पणी गर्दै केही विषय प्रष्ट पारेका छन् ।

“महामन्त्रीका विषयमा केही प्रश्न छन् । यसपछि यही जिम्मेवारीबाट प्रष्टीकरण दिन पाइएला कि नपाइएला !,” उनको भनाइ थियो, “म दुईपल्टसम्म सभापति शेरबहादुर देउवालाई हराउन लागेकै हो । उहाँको विपक्षमा रहनुभएका शेखर कोइरालालाई जिताउन लागेकै हो ।”

उनले २०६८ सालदेखि नेताहरुले विश्राम लिनुपर्छ भन्दै बोले पनि २०७८ सम्म आउँदा पनि बिदा गर्न नसकिएको जिकिर गरे ।

“बिदा गर्ने कोसिस गरेँ, सकिनँ । शेरबहादुर देउवालाई बिदा गर्न खोजियो, सकिएन । १० वर्षसम्म नेतृत्व फेर्न भनियो तर सकिएन,” थापाले भने, “बाहिरबाट हेर्दैगर्दा जसलाई फेर्नुपर्छ भनिस् तर त्यहीँ मिसिएर काम गरिस् भनेर ममाथि नै आरोप लाग्यो । मेरा सीमाहरु थिए । मैले जति भत्काउनुपर्ने थियो सकिनँ, नसकेकै हो । ती मेरा कमजोरी रहे ।”

उनले पालिकाको टिकट वितरण, चुनावअघि माओवादीसँगको गठबन्धन, माओवादीसँगको सहकार्य, एमालेसँगको सहकार्यमा आफूले विरोध गर्दागर्दै पनि नसकेको तर बहुमतका आधारमा मान्छु भन्दै अघि बढ्नु नै गलत भएको टिप्पणी गरे ।

“स्थानीय तहको टिकट वितरणका बेला सभापतिले मलाई साँझको समयमा बोलाउनुभयो । एउटा पालिकाको सन्दर्भमा भनेँ– यो पात्र जो आउँछ । त्यसका कारण नेपालको राजनीतिले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ रोकौँ भनेर भनेँ । उहाँले मैले बोली दिइसकेँ भन्नुभयो । भोलिपल्ट पनि नेताहरुलाई भनेँ, रोक्न सकिनँ, बुझाउन सकिनँ । मैले गल्ती गरेकै हो । मैले यस्तो हुन्छ भनेँ तर बहुमतको निर्णय मानेँ । मैले त्यसबेला घुँडा धसेर मान्नु हुँदैनथ्यो । मैले अडान लिनैपर्ने थियो, रोक्नैपर्ने थियो ।”

उनले निर्वाचनअघि पनि गठबन्धन गर्न नहुने भनेर आफूले पटक पटक भन्दै आएको बताए ।

“निर्वाचनअघि हुने गठबन्धनले पार्टी समाप्त गर्छ भनेर भनेँ । हामीले हाम्रो पार्टीका मतदाता चिन्दैनौँ । त्यो लोयल्टी छ । तर पार्टीको निर्णय भयो । मैले त्यो कुरा राखेपछि कि निर्णय मान्नु हुँदैनथ्यो । निर्णय गरिसकेपछि निर्वाचनमा नलड्नुपर्ने थियो । त्यो गल्ती गरेकै हो,” थापाले भने, “प्रतिपक्षमा बस्ने प्रचण्डलाई भोट हाल्ने ! त्यसबेला मैले फरक मत राखेकै हो ओलीले कांग्रेसले ढोक्सा थापेको हो ? भन्नुभयो । मैले बहुमतको निर्णय हो भनेर मानेँ, त्यो गल्ती थियो ।”

एमालेसँग गठबन्धन हुँदा पदाधिकारीले जानकारी पनि नपाएको बताउँदै उनले भने,“सभापतिको घरमा गएर भनेको हो तपाईंको प्राइभेट कम्पनी हो कांग्रेस ? भनेर सोधेको हो । बाहिरबाट हेर्दा पदाधिकारी बूढानीलकण्ठमा बसेका छन् भन्ने देखियो । पितातूल्य नेताले ‘भयो भाइ’ भनेपछि मानेँ । कुनै पनि हालतमा मान्न हुँदैनथ्यो । भयो भने मैले संसदीय दलको नेता बदल्छु भन्नुपर्थ्यो मान्नु हुँदैनथ्यो, मानेर गल्ती गरेँ ।”