त्रिवि रङ्गशालाको पहिलो चरणमा निर्माण सम्पन्न प्यारापिट र फ्लडलाइट हस्तान्तरण हुँदै

त्रिवि रङ्गशालाको पहिलो चरणमा निर्माण सम्पन्न प्यारापिट र फ्लडलाइट हस्तान्तरण हुँदै



काठमाडौं । काठमाडौंको कीर्तिपुरमा रहेको त्रिवि रङ्गशालामा पहिलो चरणमा निर्माण सम्पन्न भएको प्यारापिट र फ्लडलाइट नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगिता सञ्चालनका लागि औपचारिक रूपमा आज हस्तान्तरण हुँदैछ ।

शहरी विकास मन्त्रालयअन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई प्रतियोगिता सञ्चालनका लागि हस्तान्तरण गर्न लागेको हो ।

रङ्गशालामा जडान भएका छ वटै फ्लडलाइट बेलुका बालेर पहिलो चरणमा निर्मित संरचना प्रतियोगिता सञ्चालनका लागि क्यानलाई स्वीकृति दिइने सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सुपरिटेन्डेन्ड इन्जिनियर चक्रवती कण्ठले जानकारी दिए ।

एनपीएल लगत्तै दोश्रो चरणको काम पनि शुरु हुने उनले बताए ।

भोलिदेखि त्रिवि क्रिकेट रङ्गशालामा शुरु हुने दोस्रो संस्करणको एनपीएल क्रिकेटको सबै तयारी पूरा भएको छ ।