मलाई र लेखक थुन्नुलाई नै सरकारले सुशासन ठानिरहेको छ : ओली

मलाई र लेखक थुन्नुलाई नै सरकारले सुशासन ठानिरहेको छ : ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई समात्नु नै सुशासन हो भन्ने सोचिरहेको बताएका छन् । आइतबार भक्तपुरको गुन्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिसँगको भेटका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले ओली र लेखकलाई गिरफ्तार गरेर थुन्नुलाई नै वर्तमान अन्तरिम सरकारले सुशासन ठानिरहेको जिकिर गरे । त्यसनिम्ति ‘जेनजी’लाई संगठित गर्ने, उनीहरूका मागपत्र लेखिदिने, जेनजीलाई बोलाएर दबाब दिए भन्नेजस्ता भ्रम फैलाउने काममा सरकार लागेको उनको भनाइ थियो ।

ओलीले भने, ‘अहिले सरकारमा हुनेहरूले सुशासन भनेको केपी ओली र रमेश लेखकलाई गिरफ्तार गरेर थुन्नु भन्ने बुझेका छन् र त्यसका निम्ति जेनजीहरूलाई संगठित गर्नु, जेनजीहरूको मागपत्र लेखिदिनु, जेनजीहरूलाई बोलाएर मागपत्र पढाउनु, जेनजीहरूका हातमा मागपत्र थमाइदिनु, जेनजीहरूको डेलिगेसन बोलाउने, डेलिगेसन भेट्ने र सञ्चारकर्मीहरूका अगाडि डेलिगेसन आयो, जेनजीहरूले सरकारलाई दबाब दिए लौ के गरौँ भनेर सरकार त दबाबमा छ भन्ने देखाउन आर्टिफिसियल ड्रामा तयार भएको छ ।’

वर्तमान सरकारले ‘बिनापैसाको नाटक’ देखाइरहेको उनले टिप्पणी गरे । जेनजीले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको मागपत्र कसले, कहाँ ‘ड्राफ्ट’ गरेको भन्ने समेत आफूलाई जानकारी रहेको उनले बताए ।

आफूहरू ‘बिनापैसामा असंवैधानिक सरकारको तमासा हेर्न बाध्य’ भएको उनले उल्लेख गरे । ओलीले भने, ‘जेनजीहरूको मागपत्र हेरेको थिएँ, मागपत्र कसले ड्राफ्ट गरेको मलाई समेत थाहा छ । कहाँ पढाइएको जेनजीलाई थाहा छ, को अर्गनाइजर भइरहेको छ त्यो पनि थाहा छ । जे होस्, एउटा तमासा भयो । हामीले बिनापैसा यो असंवैधानिक सरकारको तमासा हेर्न पाएका छौँ । कलाविहीन नाटक छ । नाटकमा अलिकति कला हुनुपर्छ । कलाजिहीन नाटक छ, त्यो हेरिरहेका छौँ ।’