काठमाडौं । नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट भएका छन् । युरोपेली छनोटअन्तर्गत आइतबार राति भएको खेलमा नर्वेले इटालीलाई ४–१ गोलले हराउँदै विश्वकपमा स्थान बनाएको हो ।
अं
नर्वे २८ वर्षपछि विश्वकपमा छनोट भएको हो । नर्वेले यसअघि सन् १९९८ को विश्वकप खेलेको थियो । समग्रमा चौथो पटक विश्वकपमा स्थान बनाएको पाहुना टोली नर्वेको जितमा अर्लिङ हालान्डले दुई तथा एन्टोनियो नुसा र जोर्गेन लार्सनले एक एक गोल गर्नुभयो ।
इटालीका लागि फ्रान्सिस्को पियो एस्पोसिटोले सान्त्वना गोल फर्काउनुभयो । यस्तै युरोपेली छनोटको अर्को खेलमा पोर्चुगलले अर्मेनियालाई ९–१ गोलले हराउँदै समूह एफबाट विश्वकपमा स्थान बनायो ।
एकपक्षीय खेलमा पोर्चुगललाई जिताउन जोआओ नेभेस र ब्रुनो फर्नान्डेजले ह्याट्रिक पूरा गर्नुभयो । रेनाटो भेइगा, गोन्सालो रामोस र फ्रान्सिस्को कोन्सेइकाओले एक एक गोल थप्नुभयो ।अर्मेनियाका एडवार्ड स्पर्ट्स्यानले सान्त्वना गोल फर्काउनुभयो ।
पोर्चुगल लगातार सातौँ तथा समग्रमा नवौँ पटक विश्वकपमा छनोट भएको हो ।नर्वे र पोर्चुगल छनोट भएसँगै युरोपबाट विश्वकप यात्रा तय गर्ने पाँच टोलीको टुङ्गो लागेको छ ।
सन् २०२६ को जुन ११ देखि १९ तारिखसम्म तीन देशका विभिन्न शहरमा आयोजना हुने फिफा विश्वकपमा पहिलो पटक ४८ देशले प्रतिस्पर्धा गर्दैछन् ।


प्रतिक्रिया