जेनजीले प्रदर्शन गरेपछि बारामा कर्फ्यु आदेश जारी

जेनजीले प्रदर्शन गरेपछि बारामा कर्फ्यु आदेश जारी

आक्रोशित समूहले फुटाए सिमरा विमानस्थलको गेट



काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतको विरोधमा जेनजीले प्रदर्शन गरेपछि बारामा कर्फ्यु आदेश जारी गरिएको छ ।

एमालेका कार्यकर्ताहरुसँग झडप भएपछि आक्रोशित समूहले बाराको सिमरा विमानस्थलको मुख्य प्रवेशद्वारमा रहेको फलामको गेट फुटाएका छन् ।

बाराको परवानीपुरमा आज आयोजित युवा संघको कार्यक्रममा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेतसहितको टोली बारा जाँदै छ । नेताहरु बारा नपुग्दै स्थानीय युवा र एमाले कार्यकर्ताहरुबीच सिमरा बजारमा झडप भएको थियो ।

तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हाे ।

मध्यान्ह १२ः२० बजेदेखि राति ८ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए ।

उनका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र (ख) बमोजिम बाराको जीतपुर सिमरा उपमहानगरपालिका भित्र चार किल्ला क्षेत्र निर्धारण गरेर कर्फ्यु आदेश जारी गरिएको हो ।

गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ–बायाँ ५ सय मिटरसम्म तथा सिमरा विमानस्थलको वरिपरि ५ सय मिटरसम्म कसैले आवतजावत, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी मिश्रले भनेका छन् ।