सिमरामा जेनजी प्रदर्शनकारी र प्रहरीबीच झडप, केही घाइते

सिमरामा जेनजी प्रदर्शनकारी र प्रहरीबीच झडप, केही घाइते



काठमाडौं । नेकपा एमालेका कार्यकर्ता र जेनजी युवाबीचको झडपका कारण अशान्त बाराको सिमरा बजार तनावग्रस्त बनेको छ ।

आफूहरूमाथि कुटपिट गर्ने एमाले कार्यकर्तालाई प्रहरीले पक्राउ नगरेको भन्दै जेनजी युवाले सिमरा बजार क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

सडकमा टायर बालेर यातायात अवरुद्ध पार्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको छ । झडपमा परेर दुवैतर्फका केही घाइते भएका छन् ।

झडपको क्रममा युवाहरूले प्रहरीमाथि ढुंगाइँट्टा प्रहार गरेपछि प्रहरी पछि हटेको छ ।

हिजोको घटनामा जेनजी युवालाई कुटपिट गर्नेहरूलाई प्रहरीले कारबाही नगरेको भन्दै आज प्रदर्शन गरेको जेनजी प्रदर्शनकारीको भनाइ छ । प्रहरीले भने कुटपिटमा संलग्न दुईजनालाई पक्राउ गरेर अदालतबाट म्याद थपको प्रक्रिया अगाडि बढाइसकेको बताएको छ ।