मकवानपुर । सडक डिभिजन कार्यालय मकवानपुरले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको दायाँ बायाँका संरचना हटाउने भएको छ ।
शुक्रबार सूचना जारी गर्दै कार्यालयले हेटौँडा बजार क्षेत्रको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ति पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्मको सडकको दायाँबायाँ ७५ फिटभित्र बनेका संरचना हटाउन भनेको हो ।
त्यहाँ रहेका स्थायी/अस्थायी घरटहरा हटाउन कार्यालयले १५ दिनको समय दिएको छ । १५ दिनभित्र नहटाए कार्यालय आफैले हटाउने र सोबापत लाग्ने खर्च सम्बन्धित व्यक्तिबाटै असुल उपर गरिने सूचनामा उल्लेख छ ।
बिहीबार हेटौँडामा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ, हेटौँडाकी मेयर मिनाकुमारी लामा, मकवानपुरका सीडीओ वसन्त अधिकारी, वडाध्यसहितको बैठकमा महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत हेटौडा बजार क्षेत्रको सडक सीमा खाली गराउने प्रकृया अगाडि बढाउने सहमति भएको थियो ।
सडक डिभिजन हेटौँडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सीमा खाली गराउन पटकपटक ताकेता गरिएको स्मरण गराउँदै अवैध संरचना हटाउन सूचना आव्हान गरेको हो ।
यसअघि सर्वोच्च अदालतले पनि हेटौँडा उपमहानगरपालिकाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म सडकको दायाँबायाँ क्षतिपूर्ति नपाउने फैसला गरिसकेको साथै अतिक्रमण हटाउन प्रकाशित सूचनाविरुद्ध परेका रिट खारेज भएकाले त्यस्ता संरचना स्थायी/अस्थायी घरटहरालगायत अन्य संरचना हटाउन सडक डिभिजनले आग्रह गरेको छ ।


प्रतिक्रिया