महेश बस्नेतले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

महेश बस्नेतले मागे प्रधानमन्त्री कार्कीको राजीनामा



काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन् ।

एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ घोषणा कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले विधि र प्रक्रियाबाट देशलाई चलाउन प्रधानमन्त्री कार्कीले फास्ट ट्र्याकबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।

‘फास्ट ट्र्याकबाट सुशीला आमाले राजीनामा दिनुस् । विधि प्रक्रियाबाट देश चल्ने हो,’ बस्नेतले भने, ‘दलबाट देश चल्ने हो । दल बाहिरबाट राजनीति हुँदैन ।’

‘युथ भोलेन्टियर फोर्स’ घोषणा अघि शुक्रबार बबरमहलमा एमालेका युवाहरूले प्रदर्शनसमेत गरेका थिए ।

उनले खास जेनजीहरूका माग सम्बोधन एमाले नै गर्ने दाबी गर्दै जेनजी आन्दोलनका घाइते र शहीदहरूलाई न्याय दिन पनि प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने बताए ।

‘जेनजीको नाममा जहाँ अवरोध त्यहाँ प्रतिरोध हुन्छ’ उनले भने,’ जेनजीहरूसँग हामी सम्पर्कमै छौं । तर उनीहरूका नाम र ब्यानर भजाएर अरु खालका तत्वहरू सक्रिय रहेको छन् ।’