काठमाडौं । जिल्ला सुरक्षा समिति बारा र जेन-जी समूह बीच बारामा जारी वार्तामा जेन-जी अगुवा सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि असन्तुष्टि पोखेका छन् ।
उनले गृहमन्त्रीको लाचारीका कारण सिमरा घटना भएको आरोप लगाए । उनले भने, ‘सरकार हाम्रो हो । तर, गृहमन्त्रालय हाम्रो होइन । गृहमन्त्रालयले राम्रोसँग काम गरेको भए यो दिन आउने थिएन । हामी आफैं पनि गृहमन्त्रीको विरोधमा आएका छौं । यो लाचारपन अब सहन सक्दैनौं हामीहरू । हतियारधारीहरू बाटै भरि घुमिरहेका छन् । बोतल उठाएर हाम्रा केटाहरूलाई हानिरहेका छन् ।’
देशका लागि लडेका जेन-जीले नै अन्याय सहनु परेको उनले बताए । नेकपा एमालेका कार्यकर्ताले प्रहरी र जेन-जी समूहलाई भिडाएको गुरुङले आरोप लगाए । उनले प्रश्न गरे, ‘हामीले कहिलेसम्म सहनु पर्ने ? हामीले कहिले पार्टीको झण्डा उठाएर हिँडेका छौं र ? हाम्रो लागि पहिलो कुरा देश हो, त्यसपछि मात्रै बाँकी कुरा हो । देश बन्नुपर्छ भनेर हामीहरू चुप लागेर बसेका हौं ।’
शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा जिल्ला सुरक्षा समिति बारा र जेन जी समूह बीच वार्ता हुँदै गर्दा सुधनसमेत सहभागी भएका हुन् ।


प्रतिक्रिया