घरमै लिभरपुलको लज्जास्पद हार

घरमै लिभरपुलको लज्जास्पद हार



काठमाडौं । इंग्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुलले घरेलु मैदानमै लज्जास्पद हार बेहोरेको छ । शनिबार राति घरेलु मैदान एन्फिल्डमा सम्पन्न खेलमा आर्ने स्लटको टोली लिभरपुललाई नटिंघम फरेस्टले ३–० ले स्तब्ध बनाएको हो ।

पाहुना टिमको जितमा मुरिलो, निकोलो साभोना र मोर्गन गिब्स–ह्वाइटले गोल गरे । पहिलो हाफमा १–० को अग्रता बनाएको नटिंघमले दोस्रो हाफमा दुई गोल थप्यो ।

खेलको ३३औँ मिनेटमा मुरिलोको गोलमा नटिंघमले अग्रता बनाएको थियो । ४६औँ मिनेटमा साभोनाले पाहुना टिमको अग्रता दोब्बर बनाए । यस्तै, ७८औँ मिनेटमा ह्वाइटले गोल गरेपछि नटिंघमले ३–० को जित सुनिश्चित गरेको हो ।

जितसँगै १२ खेलबाट १२ अंक जोडेको नटिंघम तालिकाको १६औँ स्थानमा उक्लिएको छ । यता, पछिल्लो समय खराब लयबाट गुज्रिरहेको लिभरपुलको भने यो १२औँ खेलमा छैटौँ हार हो । लिभरपुल १८ अंकसहित तालिकाको ११औँ स्थानमा छ ।