प्रिमियर लिग : शीर्ष स्थानको आर्सनलले टटनह्यामसँग खेल्दै

प्रिमियर लिग : शीर्ष स्थानको आर्सनलले टटनह्यामसँग खेल्दै



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार शीर्ष स्थानको आर्सनलले टटनह्याम हट्सपरसँग प्रतिस्पर्धा गर्दैछ । आर्सनलको गृहमैदान इमिरेट्स स्टेडियममा हुने खेल राति १०ः१५ बजे सुरु हुनेछ ।

१२औं चरणका खेल जारी रहँदा आर्सनल २६ अंकमा तालिकाको शीर्ष स्थानमा छ । टटनह्यामविरुद्ध जित निकाल्न सके आर्सनलले दोस्रो स्थानको चेल्सीसँगको दुरी ६ अंकमा पुर्‍याउनेछ । दोस्रो स्थानको चेल्सीको २३ र तेस्रो स्थानको म्यानचेस्टर सिटीको २२ अंक छ ।

जारी सिजन लय समाउन नसकेको टटनह्याम पनि आर्सनलविरुद्ध जित निकाल्दै एकै पटक चार स्थान सुधारको योजनामा देखिएको छ। आठौं स्थानमा रहेको उसको १८ अंक छ । आर्सनललाई पराजित गर्न सके २१ अंकमा चौथो स्थानमा उक्लनेछ ।

आइतबार नै हुने अर्को खेलमा राति ७ः४५ बजे एस्टन भिल्ला र लिड्स युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।