काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी फुटेको छ । राजेन्द्र श्रेष्ठसहितका नेताहरूले प्रचण्ड नेतृत्वको नेकपामा जाने घोषणा गरेका छन् ।
श्रेष्ठसहित ६ नेताले अध्यक्ष अशोक राईलाई पत्र पठाउँदै पार्टीबाट अलग भएको र अब नेकपासँग एकीकरणमा जाने जानकारी गराएका छन् ।
उपाध्यक्षहरू रणध्वज लिम्बु, परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष डा.पुष्पराज कर्णिकार, केन्द्रीय अनुशासन आयोग अध्यक्ष कृष्णबहादुर रजुले आइतबार विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरिएको जानकारी दिएका हुन् ।
“…अतः हामी तपसिलका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू जनता समाजवादी पार्टीका आ–आफ्ना पदीय जिम्मेवारीबाट अलग हुँदै विभिन्न पार्टीहरू एकताबद्ध भई बनेको नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण र ध्रुवीकरणको दिशामा अगाडि बढ्ने व्यहोरा जानकारीका लागि अनुरोध छ,” विज्ञप्तिमा भनिएको छ ।
संघीय परिषद्का अध्यक्ष श्रेष्ठ नेकपासँगको वार्ता टोलीमा थिए ।


प्रतिक्रिया