दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । आइतबार सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई छाड्न आदेश दिएको छ ।

बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीशहरू नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले हिरासत मुक्त गर्न आदेश दिएको हाे ।

यसअघि बिहीबार न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई २४ घण्टाभित्र उपस्थित गराउन र कारण देखाउन आदेश दिएको थियो ।

दुर्गाका छोरा निराजनले बुधबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

निराजनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी परिसर काठमाडौं लगायतलाई विपक्षी बनाएका थिए ।

दुर्गा प्रसाईंले दिएका अभिव्यक्तिका आधारमा प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।