सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्‍यो अध्यादेश

सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्‍यो अध्यादेश



काठमाडौं । सरकारले बैठकले भूमिसम्बन्धी नवौँ संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । त्यसैगरी सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जानकारी दिए ।

हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण यही मंसिर १० गते अनिवार्य अवकाशमा जाँदै छन् ।

बैठकले अतिरिक्त नायव महानिरीक्षक ईश्वर कार्कीलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले युरोपियन युनियनको हरित ऊर्जासम्बन्धी परियोजनाका लागि २५.५८ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने भैरहवाको विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि २०७१ खारेज गर्दै सो क्षेत्रमा प्रतिवर्गमिटर भाडादर रु २० रहेकोमा त्यसलाई घटाएर रु ५ कायम गर्ने निर्णय गरेको छ ।

‘जेनजी’ आन्दोलनमा घाइतेहरूका लागि स्थापना गरिएको हेल्पडेक्समा १० जना स्वयंसेवक खटाउने र मासिक १५ हजारका दरले चार महिनासम्म काममा खटाउने निर्णय गरेको मन्त्री पुनले जानकारी दिए ।