देउवाकै हस्ताक्षरमा पार्टी निर्वाचनमा जान्छ : नेता गुरुङ

देउवाकै हस्ताक्षरमा पार्टी निर्वाचनमा जान्छ : नेता गुरुङ



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले केन्द्रीय कार्य समितिको बैठकमा आजसम्म विशेष र नियमित महाधिवेशनको प्रस्ताव आधिकारिक रुपमा नआएको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले निर्वाचन अघि महाधिवेशन सम्भव नरहेकोले वर्तमान सभापतिकै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जाने ठेकुवा गरेका छन् ।

विशेष महाधिवेशनले पार्टी सभापति, पदाधिकारी वा सदस्यलाई हटाउने व्यवस्था विधानको धारा १७ (२) मा कहिँ कतै नलेखिएको पनि उनकाे दाबी छ ।

उनले लेखेका छन्, ‘विधानमा व्यवस्था भएको मापदण्ड अनुसार हस्ताक्षरहरूको सनाखत र प्रमाणीकरण पनि भई सकेको छैन । यसको लागि आवश्यक नियमावली र कार्यविधि पनि बनिसकेको छैन । पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा छलफलको लागि औपचारिक प्रस्तावको रूपमा पनि आएको छैन । यस सम्बन्धमा पार्टीको केन्द्रीय कार्य समितिले कुनै निर्णय पनि गरिसकेको छैन । साथसाथै, पार्टीले २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने निर्णय गरि सकेको छ । पार्टीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने सम्पूर्ण तयारीको काम सम्पन्न गर्नु पर्नेछ । पार्टी एकता कायम राख्नु छ र पार्टीलाई अझ बढी एकताबद्ध बनाउनु छ । यसैले पार्टीले अहिले विशेष महाधिवेशनमा अलमलिने सम्भावना कम देखिन्छ ।’