पूर्वमाओवादी कार्यकर्तालाई माधवले भने- इतिहासको चर्चा ०५२ देखि होइन ००६ देखि हुनुपर्छ

पूर्वमाओवादी कार्यकर्तालाई माधवले भने- इतिहासको चर्चा ०५२ देखि होइन ००६ देखि हुनुपर्छ



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले १४ वटा घटकलाई मिलाएर नेपाली कम्युनिस्ट पार्टीको गठन गरेकोले अब सबै नयाँ भएको बताए । पेरिसडाँडा मेरो, आलोकनगर तपाईंहरूको भन्ने मानसिकताबाट मुक्त हुन उनले आग्रह गरे ।

अब सबै जनसंगठनहरूलाई एकताबद्ध गर्नुपर्नेमा नेता नेपालले जोड दिए । इतिहासको चर्चा गर्दा पनि ०५२ सालदेखि मात्रै नभएर ००६ सालदेखिको चर्चा गर्न पूर्वमाओवादी कार्यकर्ताहरूलाई उनको आग्रह थियो । ०२८ सालदेखि झापा विद्रोहको चर्चा गर्नुपर्ने उनको भनाइ छ ।

पार्टीमा योगदान भएका सबै नेताहरूको बारेमा चर्चा गर्न पनि कार्यकर्तालाई नेता नेपालले निर्देशन दिए ।

नेकपा (एमाले) का कार्यकर्ताहरूले अध्यक्ष केपी ओलीलाई ‘बा’ भन्ने गरेकोप्रति कटाक्ष गर्दै पार्टीभित्र ‘बा’ प्रवृत्ति हावी हुन दिन नहुने बताए ।