काठमाडौं । सुमित बर्माको अर्धशतकप्रेरित पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएका हाे । पोखराको इनिङ्समा सुमित वर्माले सर्वाधिक ५० रनकाे अर्धशतकीय इनिङ खेले । उनले मात्र २९ बलको सामना गर्दै २ चौका र ४ छक्का प्रहार गरेर आफ्नो अर्धशतकीय पारी खेले । यस्तै, दीनेश खरेलले ३८ रन र त्रित राज दासले २९ रनको योगदान दिए ।
जनकपुर बोल्ट्सका बलरहरूले कसिलो बलिङ गर्दै पोखरालाई ठूलो स्कोर बनाउनबाट रोके । विशेषगरी, सञ्जय कृष्णमूर्ति सबैभन्दा सफल बलर रहे । उनले किफायती बलिङ गर्दै आफ्नो ४ ओभरको स्पेलमा २१ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिए । अनिल साह र ललित राजवंशीले १-१ विकेट हात पारे ।
आजै भएको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ७ विकेटले हराउँदै लगातार चौथो जीत हासिल गरेको छ ।


प्रतिक्रिया