एमाले स्याङ्जाबाट सर्वसम्मत छानिए १५ जना प्रतिनिधि

एमाले स्याङ्जाबाट सर्वसम्मत छानिए १५ जना प्रतिनिधि



वालिङ । काठमाडौंमा मङ्सिरको अन्तिम साता हुने नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि स्याङ्जाबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधिहरु चयन गरिएको छ ।

स्याङ्जा सङ्घीय निर्वाचन क्षेत्र नं. १ मा खुला तर्फ नारायण प्रसाद मरासिनी, सुधिर पौडेल, महेश पुरी र चुनप्रसाद शर्मालाई महाधिवेसन प्रतिनिधिका रुपमा चयन भएका छन् । त्यसैगरी महिलाबाट चिनमाया गुरुङ र तारा शर्मा तथा युवा प्रतिनिधिमा अमृत नेपाली चयन भएका हुन् ।

त्यसैगरी, सङ्घीय क्षेत्र नं. २ मा खुलाबाट सुर्यप्रसाद गैह्रे(पारस), रामचन्द्र भट्टराई र खिम बहादुर थापा चयन हुनु भएको छ । यस्तै महिलाबाट खगीसरा थापा, भेमला बराल र ४० वर्षमुनिका युवाबाट विश्वनाथ अर्याल चयन भएका छन् । दलित समुदायबाट मेघबहादुर सार्की र तिलकराम नेपाली चयन भएको नेकपा एमाले एघारौं राष्ट्रिय महाधिवेशन निर्वाचन समिति स्याङ्जाले जनाएको छ ।

१५ जना प्रतिनिधिका लागि ८४ जना आकाङ्क्षी देखिएकोमा स्याङ्जामा सबै सदस्य सर्वसम्मत छानिएका नेकपा एमाले स्याङ्जाले जनाएको छ ।