काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा चुनावको कार्यतालिका अनुमोदन गरी सार्वजनिक गरेको छ ।
कार्यतालिका अनुसार पुस १९ गते बिहान १० देखि ११ बजेसम्म मतदाता नामावली प्रकाशित हुनेछ । नामावलीमाथि दाबी विरोध तथा उजुरी छानबिन गरेर पुस २२ गते दिउँसो ३ देखि ४ बजेसम्म अन्तिम मतदाता नामावली सार्वजनिक गरिनेछ ।
पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । पुस २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ भने पुस २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने आयोगले जनाएको छ । पुस २७ गते दिउँसो १ देखि २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ ।
पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न वितरण गर्ने कार्यक्रम छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान सम्पन्न हुनेछ ।
फागुन २० गते राष्ट्रियसभाका १९ जना सदस्यको कार्यकाल समाप्त हुँदैछ । १९ जनामध्ये वामदेव गौतम राष्ट्रपतिद्वारा मनोनीत सदस्य हुनुहुन्छ । बाँकी १८ रिक्त पदका लागि चुनाव हुन लागेको हो ।
यस पटक कोशीबाट तीन, मधेशबाट चार तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट दुई–दुई तथा लुम्बिनी प्रदेशबाट तीन जना सदस्य निर्वाचित हुनेछन् । राष्ट्रियसभा सदस्य चुनावमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका मेयर तथा उपमेयर मतदाता हुन्छन् ।


प्रतिक्रिया