कोटेश्वर–जडीबुटी अन्डरपास र फ्लाईओभर बनाउन जापानले साढे ३१ अर्ब रुपैयाँ ऋण दिने

कोटेश्वर–जडीबुटी अन्डरपास र फ्लाईओभर बनाउन जापानले साढे ३१ अर्ब रुपैयाँ ऋण दिने



काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि ऋण सम्झौता भएको छ । अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थतिमा आज अर्थ मन्त्रालयमा सम्झौता भएको हो ।

आयोजनाका लागि जापानले ३४ अर्ब ५९ करोड जापानी येन अर्थात् झन्डै ३१ अर्ब ७६ करोड रुपैयाँ ऋण सहायता उपलब्ध गराउनेछ । जाइकामार्फत प्राप्त हुने ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक शून्य दशमलव दुई प्रतिशत ब्याजदर रहने छ ।

आयोजना अन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाईओभर निर्माण गरिनेछ । यसबाट अहिले कोटेश्वर चोकमा रहेको ट्राफिक जामको समस्या कम हुने सरकारको विश्वास छ ।