काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले अब देशकै नेतृत्त्व गर्नुपर्ने जस्तो लागेको बताएका छन् । ‘उज्यालो नेपाल पार्टी’को घोषणासभाको प्रमुख अतिथि बनेका घिसिङले यस्ताे बताएका हुन् ।
उनले उज्यालो नेपाल पार्टी अनुप उपाध्यायले बनाएको भन्दै श्रेय समेत दिए । उनले भने, “मैले विदेशमा घुम्ने मौका पाउँदा सबैसँग भेट्ने अवसर प्राप्त भयो । विदेशमा रहेका नेपालीहरूले देशलाई कति माया गर्नुहुँदो रहेछ । उजयालो नेपाल पार्टीका लागि विदेशमा रहेका नेपालीको साथ सहयोग प्राप्त भएको मलाई लाग्छ ।”
देशमा संकट हुँदा आफ्नो उपस्थिति हुने गरेको घिसिङको दाबी छ । “जुन-जुन बेला देशमा, संस्थामा क्राइसिस आउँछ मेरो उपस्थिति हुँदो रहेछ । विद्युत् प्राधिकरणमा क्राइसिस भएका बेला मलाई निर्देशक बनाउनुभयो । चिलिमे हाइड्रोपावरमा पनि क्राइसिस भएका बेला त्यहाँका स्थानीय जनता केन्द्रित भएर काम गरेँ । त्यहाँबाट पनि निकालिएँ । आन्दोलन भयो त्यपछि फेरि विद्युत् प्राधिकरणमा आएँ र त्यसपछि समस्या समाधान भयो,” घिसिङले भने ।
‘जेनजी’ आन्दोलनले आफूलाई मन्त्री बन्ने अवसर प्राप्त भएको उनले बताए ।
मन्त्री घिसिङले अबको १५–२० वर्षमा नेपालले बिजुली निर्यातबाट ४०–४५ खर्बको बिजुली निर्यात गर्न सकिने बताए । अहिले नै २०–२५ अर्बको बिजुली निर्यात भइरहेको भन्दै ५० हजार मेगावाट बिजुली निर्यात गरेर नेपालले देशलाई कायापलट गर्न सक्ने दाबी गरेका हुन् ।
‘अहिले नै २०–२५ अर्बको बिजुली निर्यात गरेका छौँ । १५–२० वर्षमा ५० हजार मेगावाट बिजुली बिक्री गर्दा ४०–४५ खर्बको बिजुली निर्यात गर्न सक्छौँ,’ उनले भने, ‘यो भनेका आजको नेपालको जीडीपी बराबर हो ।’
खर्बौं रुपैयाँ बिजुलीबाट आम्दानी हुन थालेपछि देशलाई सडक, पूर्वाधार, टनेल, रेल, शिक्षा, स्वास्थ्यजस्ता हरेक क्षेत्रमा कायापलट गर्न सक्ने उनले बताए ।


प्रतिक्रिया