मधेशमा नयाँ सरकार गठनका लागि आह्वान

मधेशमा नयाँ सरकार गठनका लागि आह्वान



काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा स्वीकृत गर्दै संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेश गर्न आह्वान गरेका हुन् ।

पर्सि शुक्रवार बेलुका ५ बजेसम्म दाबी पेश गर्न समय सीमा तोकिएको छ । मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने कार्यसूची रहेकोमा विश्वासको मत लिन नपाउने अवस्था आएपछि प्रदेशसभाबाटै राजीनामा घोषणा गरेर पछि प्रदेश प्रमुखलाई राजीनामा बुझाएका हुन् ।

मधेश प्रदेशसभामा एक सय सात सदस्य छन् । मुख्यमन्त्री यादवले आफ्नो पक्षमा विश्वासको मत जुटाउन ५४ सांसदको समर्थन जुटाउनुपर्ने थियो । तर प्रदेशसभामा सभामुख र अन्य दलका दुई जना गरी यादवको पक्षमा २५ जना मात्र छन् । तीमध्ये एक सांसद निलम्बित छन् ।

एमाले मधेश प्रदेश संसदीय दलका नेता यादवले कात्तिक २४ गते बिहान महोत्तरीको बर्दिबासमा रहेको एक होटलमा शपथ लिएका थिए । यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेपछि सत दलका सांसदहरू सर्वोच्च अदालत गएका थिए ।

यही घटनाका कारण प्रदेश प्रमुख भण्डारीलाई सङ्घीय सरकारको सिफारिशमा राष्ट्रपतिले पदमुक्त गरेका छन् । यस्तै प्रदेशसभाले एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डललाई दुईतिहाइ मतबाट पदबाट हटाएको छ ।