प्रतिनिधि छनोटमा एकलौटी गरेको भन्दै ओलीसँग पोखरेलकाे गुनासो

प्रतिनिधि छनोटमा एकलौटी गरेको भन्दै ओलीसँग पोखरेलकाे गुनासो



काठमाडौं । ११ औं महाधिवेशनमा अध्यक्ष उठ्ने घोषणा गरेका वरिष्ठ नेता ईश्वर पोखरेलले अध्यक्ष केपी ओलीलाई भेटेका छन् ।

ओली निवास गुण्डु पुगेर पोखरेलसहित उनको पक्षमा खुलेका पदाधिकारीहरूले ओलीसँग भेट गरेका हुन् । ओलीलाई भेट्न पोखरेलसहित अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र योगेश भट्टराई पुगेका थिए ।

महाधिवेशन प्रतिनिधि चयनको विषयमा विवाद भएका जिल्लाहरूको बारेमा छलफल गर्न लागि पोखरेलको टोली गुण्डु गएको उपाध्यक्ष युवराज ज्ञवालीले बताए ।

पोखरेलले विभिन्न जिल्लामा भएको प्रतिनिधि छनोटका क्रममा एकलौटी गरेको भन्दै गुनासो गरेका छन् । ओखलढुङ्गा, धनकुटा र दाङलगायतका केही जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विवाद भएको थियो ।

ती जिल्लामा छनोट भएका प्रतिनिधिलाई सङ्गठन विभागले अस्वीकार गर्दै पुनः निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । ओखलढुङ्गामा पोखरेल पक्षकामात्रै प्रतिनिधि छनोट भएका थिए भने धनकुटामा ओली पक्षका र दाङमा शंकर पोखरेल पक्षका मात्र छनोट भएका थिए ।

त्यसक्रममा पोखरेलले दाङ र धनकुटामा ओली पक्षका प्रतिनिधि छनोटमा एकलौटी गरेको भन्दै गुनासो गरेका थिए ।

एमालेको ११ औँ महाधिवेशनमा ओली र पोखरेल समूह नै बनाएर प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।