निर्वाचन : समानुपातिक निर्वाचनका लागि दलले आज आवेदन दिनुपर्ने

निर्वाचन : समानुपातिक निर्वाचनका लागि दलले आज आवेदन दिनुपर्ने



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुनेगरी समयसीमा निर्धारण गरिएको छ । निर्वाचनका लागि राजनीतिक दलहरूले आन्तरिक रूपमा तयारीलाई तीव्र पारेका छन् ।

आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ ।

समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने यही मंसिर २४ गते प्रकाशित हुनेछ ।

यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उमेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ ।

माघ ३० गते भने समानुपातिकतर्फको उमेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० सदस्य निर्वाचित हुने प्रावधान छ । प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उमेदवारको मनोनयनपत्र दर्ता हुनेछ ।

सोही दिन नै उमेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ ।उमेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने अवधि तोकिएको छ । आगामी माघ ८ गते उमेदवारको नामावली प्रकाशन हुनेछ ।

माघ ९ गते उमेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । सोही दिन नै उमेदवारको अन्तिम नामावली प्रकाशन हुने र उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।