काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम गएका जनार्दन शर्मा प्रभाकरलाई पूर्वमाओवादी कार्यकर्ताहरुले कालोझण्डा देखाएका छन् ।
स्थिति अप्रिय हुन नदिन सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
शर्मा आज बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज चढेर सदरमुकाम खलंगा ओर्लिएका थिए । उनी विमानस्थलबाट बाहिरिने क्रममा केही युवाहरुले कालो झण्डा देखाएका हुन् ।
शर्मा आज जिल्लास्थित प्रलोपाको पार्टी कार्यालय उद्घाटन र भोलि हुने युवाहरूको कार्यक्रममा सहभागी हुन गृहजिल्ला आएका थिए । शर्मा आउने चाल पाएपछि तत्कालीन माओवादी केन्द्रका आठबिसकोट नगर कमिटीका पूर्वअध्यक्ष मानबहादुर चदरासहितका नेता तथा कार्यकर्ताहरू मुसीकोट–१ स्थित विमानस्थल पुगेका थिए ।
विमानस्थलमा शर्मानिकटका नेता तथा कार्यकर्ता पनि थिए । शर्मा विमानस्थलको गेटबाट निस्कन नपाउँदै पूर्वमाओवादी कार्यकर्ताले शर्माविरुद्ध नाराबाजी लगाउँदै कालो झण्डा देखाएका थिए । शर्मालाई उनका पूर्वकार्यकर्ताले जनातालाई धोका दिएको आरोपसमेत लगाए ।


प्रतिक्रिया