लोकप्रिय हुने नाममा सरकारले अनुचित ढंगले खर्च कटौती गर्‍यो : उपसभामुख राना

लोकप्रिय हुने नाममा सरकारले अनुचित ढंगले खर्च कटौती गर्‍यो : उपसभामुख राना



काठमाडौं । विघटित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले संघीय संसद सचिवालयको खर्च कटौती गरेको भन्दै आपत्ति जनाएकी छन् ।

संसद सेवा दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रानाले खर्च कटौती गरेर मुलुक बन्दैन भन्ने कुरा सरकारलाई थाहा हुनुपर्ने टिप्पणी गरिन् ।

उपसभामुख रानाले सरकारले भ्रष्टाचार अन्त्य गरेर मुलुकलाई सही बाटोमा अघि बढाउनुपर्नेमा खर्च कटौती गरेर गल्ती गरेको बताइन् । उनले संसद सचिवालयका कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण, तालिमलगायतका काम गर्न पनि सरकारले नदिने अवस्था आएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

सरकारले व्यवस्थापिकालाई निचोर्ने काम मात्रै गरिरहेको अनुभूति आफूलाई भएको उनको भनाइ छ ।

उपसभामुख रानाले भनिन्, “अहिलेको सरकारले लोकप्रिय हुने नाममा खर्च कटौती भनेर के के कटौती गर्‍यौ । त्यो कुरा सरकारलाई थाहा छ– खर्च कटौती गरेर देश बन्दैन । खर्च करप्सन भएको ठाउँमा कटाउने हो । जहाँ चुहावट छ, त्यहाँ बन्द गर्ने हो । जहाँ काम भइरहेको छ, त्यहाँ कामै रोकियो भने के गर्ने ? काम कसरी हुन्छ, देश कसरी बन्छ ? खर्च कटाएर, पैसा कटाएर हुँदैन ।”