काठमाडौं । भक्तपुर नलिन्चोकमा हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरणका (क्यान) महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको हो ।
साथै तत्कालीन निर्देशक मुरारी भण्डारीलाई ५ लाख धरौटी माग्ने आदेश भएको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।
हेलिपोर्ट निर्माणमा साढे १३ करोड भ्रष्टाचार गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार अधिकारीसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
उनीहरूविरुद्ध हेलिपोर्ट निर्माण गर्दा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँबराबरको सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको कसुर रहेको थियो ।


प्रतिक्रिया