दुई पटकभन्दा बढी अध्यक्ष बन्न नपाउने कानुन बनाऔं : सुरेन्द्र पाण्डे

दुई पटकभन्दा बढी अध्यक्ष बन्न नपाउने कानुन बनाऔं : सुरेन्द्र पाण्डे



काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एक व्यक्ति दुईपटक मात्रै अध्यक्ष बन्न पाउने व्यवस्था कानुनमै गर्नुपर्ने बताएका छन् । पार्टीको ११औँ महाधिवेशनमार्फत केपी शर्मा ओली अध्यक्षमा तेहेरिन खोजीरहेको सन्दर्भमा पाण्डेले उक्त टिप्पणी गरेका हुन् ।

सोमबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पाण्डेले भने, “एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष बन्न नपाउने व्यवस्था कानुनमा गर्नुपर्छ । नयाँ पार्टीमा पनि त्यही समस्या छ ।”

उनले जबजको सही र एकरूप बुझाइको लागि दुई कार्यकाल र ७० वर्षे उमेरहद भने पनि लागू हुन नसकेको बताए । “स्वयं अध्यक्ष (ओली) जबज भन्नुहुन्छ । जबजको सही र एकरुप बुझाइका निमित्त दुई कार्यकाल र ७० वर्ष भनेका छौँ ।”

लोकतान्त्रिक विधि बोकेको एमालेलाई अध्यक्ष ओलीले व्यक्तिवादी बनाएको भन्दै पाण्डेले असन्तुष्टि पोखे । “यो लोकतान्त्रिक इतिहास बोकेको पार्टीलाई व्यक्तिवादी, केही व्यक्तिको निर्णयबाट चल्ने स्थितिको विकसित हुँदै गएको छ,’ पाण्डेले भने, ‘जसले गर्दा नेकपा एमाले जनताको बीचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने अवस्था देखा पर्दैछ । नव पुस्ताले पनि भन्यो महाधिवेशनमा लिस्ट बाड्ने पार्टीमा किन आउने,” उनले भने, “माथिबाट व्यक्ति छान्ने विधि जबजको हाेइन ।”

पुरानामा पार्टीमा मात्रै नभइ नयाँ बनेका पार्टीमा पनि यो समस्या देखिन थालेकोमा उनले चिन्ता व्यक्त गरे ।

“यो हरेक पार्टी, नयाँ बनेको पार्टीमा पनि त्यही समस्या छ । मैले के देख्दैछु, नयाँ पार्टी पनि उस्तै छ । अहिले जो नेता बनेका छन्, उनीहरू पनि अध्यक्ष छाड्न चाहँदैनन्,” पाण्डेले भने ।