काठमाडौं । नेकपा एमालेका नेता कर्ण थापाले अहिलेको अवस्थामा नेकपा एमाले विधिबाट नचलेकाले महाधिवेशनबाट नयाँ नेतृत्वमा जानुपर्ने बाध्यतात्मक अवस्था आएको बताएका छन् । अध्यक्ष केपी शर्मा ओली र उनका समूहमा रहेका नेताहरुको शैली र नेतृत्वप्रति तीव्र असन्तुष्टि जनाउँदै उनले यसरी पार्टी चल्नै नसक्ने बताए ।
सोमबार काठमाडौँमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टीभित्र बहस र संवादको संस्कृति कमजोर भएको भन्दै अब एमाले जसरी चल्दै आएको छ, त्यसरी चल्न नसक्ने निचोडका साथ नेतृत्व परिवर्तन गर्नुपरेको जनाए ।
‘उहाँको योगदानको सम्मान गर्छौं तर सधै यसरी पार्टी जीवन चल्दैन, सामुहिक निर्णयमा जानुपर्दछ अनि सधैभरी एकै नेतृत्व पाच्य हुँदैन । एमाले टुकडी मात्रै भयो, भजनमण्डली बनाउने र त्यसमै रमाउने भयो, केन्द्रीय कमिटीका बैठक उहाँ उभिने, भाषण गर्ने, भाषण जति मन लाग्छ त्यति गर्ने । जे मन लाग्छ त्यो कुरा भन्ने । उहाँले भनेको कुरा मार्क्सवाद । उहाँले भनेको कुरा जबज । उहाँले भनेको कुरा निर्णय । जो, बहुदलीय जनवादसँग कही पनि मेल खाँदैन । द्वन्द्ववादसँग पनि मेल खाँदैन । मार्क्सवादसँग पनि मेल खाँदैन ।’ उनले भने, ‘अनि उहाँको राम्रा कुरा गर्नेहरु सक्षम र कमजोरी नगरौं भन्नेहरु असक्षम, यस्तो पनि हुन्छ जबजमा ?’
थापाले पार्टीभित्र यस्ता अभ्यासविरुद्ध धेरै नेता मौन बसेका कारण परिवर्तन आवश्यक रहेको बताउँदै भने ‘हामी बहस गर्न चाहन्छौं । तर्क–वितर्क गर्न चाहन्छौं । देशका जटिल विषयमा खुला छलफल गर्न चाहन्छौं, कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने र सामूहिक नेतृत्व प्रणालीमा जानुपर्ने भएकाले ओलीले विदा लिनुपर्ने प्रष्ट धारणा हो ।’


प्रतिक्रिया