काठमाडौं । श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नाे पार्टीले चुनाव जित्ने र सरकार गठन गर्ने दाबी गरेका छन् ।
काठमाडौंको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले यस्तो बताएका हुन् । उक्त कुरा आफूहरूले घोषणापत्रमा नै लेखेको साम्पाङको भनाइ छ ।
पूर्वका विभिन्न ठाउँबाट चुनावी सभा गर्दै हिँडेका उनकाे संघीय राजधानीमा यो पहिलो चुनावी कार्यक्रम हो ।
‘जेनजीको आन्दोलनमा भएको तर नबोलिएको एउटा सत्य के हो भने हाम्रो विचार अनुसारको राज्य पनि हुनुपर्छ भन्ने हो । त्यसकारण हामीले घोषणापत्रमै लेखेका छौँ,’ साम्पाङले भने, ‘हामीले नै जित्छौँ, कुनै शंका छ ? हामीले नै जित्छौँ, हामीले नै सरकार गठन गर्छौँ ।’
आफूहरूको नेतृत्वको सरकारले जेन जेडको माग सम्बोधन गर्न आयोग बनाउने पनि उनले बताए ।
‘त्यसपछि जेनजीको एउटा आयोग बनाउँछौँ । जेनजीले के भन्न चाहेको छ भन्ने बुझ्नुपर्यो नि । ८० वर्षको पुस्ता र हिजो अस्तिको युवा पुस्ताले भनेको कुरा बुझ्छ ?,’ साम्पाङले भनेका छन् । यो देशको अग्रगामी छलाङ मार्ने योजना आफ्नो पार्टीले ल्याउने उनको जिकिर थियो ।
‘हाम्रो पार्टीमा कोही नेता र कोही कार्यकर्ता हुने छैन,’ पार्टीका अध्यक्षसमेत रहेका मेयर साम्पाङले भने, ‘हाम्रोमा सबै श्रमदाता मात्र हुन्छन् । म नेता भएर ठूलो कुर्सीमा बस्ने होइन, श्रम गर्दै हिलोमा, धुलोमा भेटिनेछु ।’


प्रतिक्रिया