ईश्वर पोखरेलले च्यासलमा बुझाए नेतृत्व परिवर्तन गर्ने निष्कर्षसहितको दस्तावेज

ईश्वर पोखरेलले च्यासलमा बुझाए नेतृत्व परिवर्तन गर्ने निष्कर्षसहितको दस्तावेज



काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको दस्तावेज पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन् । सोमबार दिउँसो ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर पोखरेलले दस्तावेज बुझाएका हुन् ।

आफू निकटका नेताहरूसहित पार्टी कार्यालय पुगेका वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनको अवधारणापत्र महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरेका छन् ।

दस्तावेज दर्ज गरेपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनमा पार्टीका तर्फबाट प्रस्तुत हुने दस्तावेजमा आफूहरूले अघि सारेका विषयहरू पनि समेटियोस् भनेर बुझाइएको बताए ।

पोखरेलले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्न पछिल्ला घटनाक्रमसँगै आगामी बाटो कसरी तय गर्ने भन्ने लगायतका विषयहरु समेटिएको बताए । उनले महाधिवेशनलाई प्रभावकारी बनाउनका लागि महत्वपूर्ण विषयमा छलफल हुने विश्वास व्यक्त गरे ।

उनले महाधिवेशन प्रतिनिधि छनोटमा केही ठाउँमा समस्या भएपनि अध्यक्ष ओलीसँगको छलफलपछि समाधान भइसकेको बताए ।

दस्तावेज बुझ्दै महासचिव पोखरेलले सचिवालय बैठकमा बुझाएको भए अझ ठिक हुने बताएका थिए ।

एमाले महाधिवेशनमा ईश्वर अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् भने अहिलेका अध्यक्ष केपी शर्मा ओली पनि अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन् ।