काठमाडौं । नेकपा एमालेले पार्टीको ११औँ महाधिवेशनमा विभिन्न १६ वटा राजनीतिक दललाई निम्तो गरेको छ । अतिथि सत्कार समितिले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन १६ दलका प्रमुख नेताहरूलाई आमन्त्रण गरेको हो ।
महाधिवेशनमा नेपाली काँग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), मजदुर किसान पार्टी (नेमकिपा)लाई आमन्त्रण गरिएको छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्तो गरिएको छ । रास्वपाका कार्यवाहक सभापति डिपी अर्याललाई आमन्त्रण गरिएको छ ।
यसबाहेक एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल र राष्ट्रिय जनमोर्चालाई निम्तो गरिएको छ ।
अतिथि सत्कार समितिकी सदस्य सुनिता बरालका अनुसार, जनमत पार्टी, परिवार दल, नेकपा माले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी र नागरिक उन्मुक्ति पार्टीलाई निम्तो गरिएको छ ।
महाधिवेशनको तयारीका लागि विभिन्न उपसमितिहरू गठन भएका छन् । मूल आयोजक समितिबाहेक व्यवस्थापनको हिसाबले विभिन्न उपसमितिहरूले आ–आफ्नो काम गरिरहेका छन् ।
मूलतः मञ्च व्यवस्थापन समिति, अतिथि सत्कार समिति, आवास र स्वयंसेवक व्यवस्थापन लगायतका समितिहरूले आ-आफ्नो ढंगले काम गरिरहेका छन् । प्रचार समितिले पनि आफ्नो काम गरिरहेको छ ।


प्रतिक्रिया