कर्मचारीका कारण ठेक्का रुग्ण भए : मन्त्री घिसिङ

कर्मचारीका कारण ठेक्का रुग्ण भए : मन्त्री घिसिङ



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले कर्मचारीका कारण पनि ठेक्का रुग्ण भएको बताएका छन्।

नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले त्यस्ता ठेक्कामा भने कुनै कारवाही नगरेको बताउँदै मन्त्री घिसिङले छानबिन गरिने उनको भनाइ छ।

‘आयोजनाको तर्फबाट पनि रुग्ण भएका ठेक्का धेरै छन् । त्यस्तालाई पनि कारवाही गर्नुपर्छ, ’उनले भने, ’अहिले जति पनि ठेक्का तोडिएको छ र तोडिँदै छन् । त्यस्ता ठेक्का निर्माण व्यवसायीकै कारण रुग्ण भएका हुन् । कर्मचारीको कारण रुग्ण भएको ठेक्कामा कुनै कारवाही अघि बढाइएको छैन । त्यसमा छानबिन गरेर सम्बन्धित कर्मचारीलाई कारवाही गर्नुपर्छ ।’

निर्माण व्यवसायीको कारण २५० हाराहारी ठेक्का रुग्ण भएको उनले बताए । यस्तै,उनले निर्माण व्यवसायी बिना देश विकास सम्भव नभएको बताए । यद्यपि,नेपालका निर्माण व्यवसायीको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको उनले बताए ।

‘निर्माण व्यवसायी बिना ठुला काम सम्भव छैन । निर्माण व्यवसायी बिना देशको विकास सम्भव छैन । राष्ट्रिय होस् या अन्तर्राष्ट्रिय होस्,’उनले भने, ‘निर्माण व्यवसायीको क्षमता अभिवृद्धि गर्न आवश्यक छ । अन्तर्राष्ट्रिय स्तरको काम गर्ने सक्ने क्षमता नेपाली निर्माण व्यवसायीमा हुनुपर्छ ।’

उनले नेपालमा लगानी सम्मेलन भन्दा निर्माण व्यवसायी सम्मेलन गर्नुपर्नेमा जोड दिए। त्यसबाट निर्माण व्यवसायीको क्षमता अभिवृद्धि हुने उनको भनाइ छ।

मन्त्री घिसिङले समयमा निर्णय नगर्दा पनि ठेक्का रुग्ण भएको बताए । ‘निर्णय नै नगर्दा पनि ठेक्का रुग्ण भएका छन् । सही समयमा सही निर्णय गर्न सक्नुपर्छ । तर,परियोजना प्रमुखहरूले समयमा निर्णय नगर्दा पनि ठेक्का रुग्ण भएका छन्,’उनले भने,‘सही समयमा निर्णय गर्न सक्नुपर्छ ।’