ओलीले महिलाको अपमान गर्छन् : अष्टलक्ष्मी शाक्य

ओलीले महिलाको अपमान गर्छन् : अष्टलक्ष्मी शाक्य



काठमाडौं । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीले महिलाहरूलाई सधैँ अपमान गरेको आरोप लगाएकी छन् ।

एमालेको ११औँ महाधिवेशनको सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित अन्तरसंवादमा शाक्यले यस्तो आरोप लगाएकी हुन् ।

अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि धामीझाँक्री भनेर अपमान गरेको शाक्यको भनाइ छ । प्रधानमन्त्री भइसकेको व्यक्तिले पूर्वराष्ट्रपतिलाई पटकपटक अपमानित शब्दहरू प्रयोग गरेको शाक्यको भनाइ छ ।

कुनै पनि नेतृत्वलाई महिलाहरूको अपमान गर्न नसुहाउने भए पनि ओलीलाई भने सुहाउने भन्दै शाक्यले व्यङ्ग्य गरिन् । ओलीमा महिलालाई हेर्ने सकरात्मक सोच र दृष्टिकोण नै नभएको उनको दाबी छ । महिलाको अपमान गर्नेविरुद्ध सशक्त आवाज उठाउनुपर्ने उनको भनाइ छ ।

महिलालाई अपमान गर्ने, अवमूल्यन गर्ने नेतृत्व आवश्यक नभएको शाक्यको भनाइ छ । ओलीले सञ्चारमाध्यममा पूर्वराष्ट्रपति भण्डारीलाई लक्षित गरेको अभिव्यक्तिप्रति आलोचना गर्दै शाक्यले उक्त टिप्पणी गरेकी हुन् ।

चालेका कदमहरूमा व्यंग्य भावसहित आफूसँग सल्लाह नै नगरिकन परैदेखि धामीले जस्तो घुमरौं लाएर झल्र्याङ्–झल्र्याङ् गरेर मुजुरका प्वाँख–स्वाँख लाएर ढ्याङढ्याङ पार्दै ‘म राष्ट्रपतिबाट आएँ, ठाउँ छोड्, ठाउँ छोड्, म अध्यक्ष हुन्छु, ठाउँ छोड्’ भन्दै आउन मिल्छ ? भन्दै प्रश्न उठाउनुभएको थियो । सोही कुरालाई उपाध्यक्ष शाक्यले आपत्ति जनाउनुभएको हो ।

ओलीको नेतृत्वमा नै अब पनि एमाले जाने हो भने एमाले र देश दुवै कमजोर हुने शाक्यको भनाइ छ । एमाले बलियो बनाउन ओलीलाई अध्यक्ष बनाउन नहुने उनको भनाइ छ । ११औँ महाधिवेशनबाट केपी ओली अध्यक्ष नबन्ने उनको दाबी छ ।