काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट आज दर्ता भएको हो । रिटको पेशी पुस २ गतेका लागि तोकिएको कोइरालाले जानकारी दिए ।
प्रतिनिधिसभा पुनर्स्थापनको माग गर्दै कांग्रेसले शुक्रबार सर्वोच्चमा रिट पेस गरेको थियो ।
रिटमा राष्ट्रपति, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, निर्वाचन अयोग र प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाइएको छ ।
संसद् विघटन असंवैधानिक भएकाले पुनर्स्थापना गरी संसद्ले कार्यकालभर काम गर्न पाउनुपर्ने रिटको दाबी छ ।


प्रतिक्रिया