जेनजी विद्रोहमा दमन गर्नेहरूलाई अन्तर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गर्छौं : गृहमन्त्री अर्याल

जेनजी विद्रोहमा दमन गर्नेहरूलाई अन्तर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गर्छौं : गृहमन्त्री अर्याल



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी’ विद्रोहमाथि दमन गर्नेहरूलाई राज्य प्रणालीभित्रबाट मात्रै नभई अन्तर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गर्ने बताएका छन् ।

मंगलबार जेनजी सहिदहरूको सम्झनामा काठमाडौंमा आयोजित दीप प्रज्वलनमा अर्यालले जेनजी घाइते तथा सहिदका माग पूरा गर्दै कारबाहीका विषयमा दृढतापूर्वक अघि बढ्ने बताए । सत्तामा बसेकाहरू कुशासनको अभियन्ता बनेकै कारण जेनजी विद्रोह भएको उनको तर्क छ ।

सहिदको सपनाअनुसार सरकार सुशासनको अभियान्ता बनेर अगाडि बढिरहेको अर्यालको भनाइ छ । मुलुकमा सुशासन कायम गर्न सरकार लागिपरेको उल्लेख गर्दै अर्यालले केही कमजोरी देखिए औँल्याउन आग्रह गरे ।

उनले जेनजी विद्रोह र सरकारी दमनको विषयमा जाँचबुझ आयोगका साथै प्रहरी र मानवअधिकार आयोगले समेत अनुसन्धान गरिरहेको बताए । ढिलो चाँडो कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ ।

उनले भने, ‘कारबाही गर्ने कुरामा दृढतापूर्वक हामी अगाडि बढ्छौँ । यहाँहरूले खाली समयको हिसाबले केही कुरा राख्नुभएको होला । हामी अझै व्यवस्थित रूपमा कारबाही गर्छौं । नेपालको राज्य प्रणालीभित्रबाट पनि कारबाही गर्छौं । र, जो दोषी छन् त्यस्ता तत्त्वहरूलाई अन्तर्राष्ट्रिय रूपबाट पनि हामी घेराबन्दी गर्छौं । त्यसैको लागि अहिले जाँचबुझ आयोग बनेको छ । राष्ट्रिय मानवअधिकार आयोगले पनि यसका लागि छुट्टै अनुसन्धान गरिरहेको छ । त्यसले पनि कारबाहीको सिफारिस गर्छ ।’